चितवन, ९ कात्तिक। कोरोना सङ्क्रमणका कारण चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको ज्यान गएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।
निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
त्यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । ती वृद्धाको शनिबार साँझ मृत्यु भएको हो।




