धनगढी, ६ कात्तिक । कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ।
प्रहरीले केराउ (मटर)का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ।जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या भएको अनुमान गर्छन्।
दुवै जना राति १० बजेदेखि नै सम्पर्कविहीन भएका थिए। तर, त्यसबारे जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान १० बजे मात्रै खबर गरिएको थियो।

माथिल्लो निकायमा समयमै किन खबर गरिएन ? यसबारे जिल्ला प्रहरी प्रवक्ता विष्ट भन्छन्, ‘पालैपालो गस्ती जाने गरिन्छ।
गस्तीमा फर्किने समयको ठेगान हुँदैन। त्यसैले ढिलो गरी खबर गरिएको हुन सक्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




