काठमाडौं , २९ असोज । काठमाडौंका रामकृष्ण तिवारीलाई केही दिनअघि उनकी पत्नीले पारिजातको पात पकाएर झोल दिइन्। ती महिलाले पारिजातको झोल पिउँदा कोरोना भाइरस लाग्नबाट जोगाउँछ भन्ने सुनेकी रहिछन्। तिवारीले खुसीसाथ दुई गिलास पिए। तर, त्यसपछि उनको शरीरमा एक्कासि रक्तचाप घट्यो।
‘शरीरमा ब्लड प्रेसर कम भएर दुई दिनसम्म काम गर्न सकिनँ’, उनी भन्छन्, ‘एउटा समस्या समाधान होला भनेर खाएको, अर्को समस्या पो आइलाग्यो। दुई दिन प्रेसर बढाउनमै खर्च भयो।’
यो त प्रतिनिधि घटना मात्रै हो। धेरै नेपालीले कोरोना संक्रमणबाट जोगिन भन्दै सुनेकै आधारमा घरेलु औषधि प्रयोग गरिरहेका छन्। कोरोनाकै औषधि भन्दै आयुर्वेद सेवा केन्द्रहरूबाट औषधि लिइरहेका छन्। जब कि विश्वमै कोरोनाको औषधि पत्ता लागेको छैन। हल्लाका भरमा जथाभावी औषधि सेवनले मानिसका विभिन्न अंगमा असर गर्न थालेको विज्ञ बताउँछन्।

कोरोना संक्रमण भएर उपचार गर्न आएका बिरामीमा घरेलु औषधि धेरै प्रयोगले समस्या देखिएको ओम अस्पतालका डा। पर्शु घिमिरे सुनाउँछन्। उनका अनुसार गुर्जो, जेठीमधुलगायत जडीबुटी सेवन गरेका संक्रमितमा कलेजोको समस्या देखिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




