लहान, २९ असोज । उपचारमा लागेको एक लाख रुपैयाँ तिर्न नसक्दा विराटनगरको विराट अस्पतालले एक बालकको शव तीन दिनपछि मात्रै परिवारलाई दिएको छ । बुधबार साँझ ऋण निकालेर रकम बुझाएपछि सिराहा नगरपालिका– ४ खरसलवाका दुईवर्षे सिद्धार्थ सदाको शव परिवारले पाएको हो ।
गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकालेर सबै रकम बुझाएपछि मृत्यु भएको तेस्रो दिन शव पाएको सिद्धार्थकी हजुरआमा कलावती सदाले बताइन् । ‘उपचार गर्दा एक लाख ५० हजार यसअघि नै दिएका थियौँ । उपचारमा लागेको ४० हजार र फार्मेसीको ६० हजार रुपैयाँ ऋण गरेर बुझायौँ,’ कलावतीले भनिन्, ‘केही दिनमा दिन्छौँ भनेका थियौँ, अस्पताले मानेन । शव नै राखेपछि सयकडा तीनका दरले ऋण निकालेर बुझायौँ ।’ अस्पतालले शव दिएपछि बुधबार साँझ नै उनीहरूले घर ल्याएका छन् ।

ठूलाआन्द्रामा समस्या देखिएपछि परिवारले सिद्धार्थलाई १८ असोजमा विराट अस्पतालमा भर्ना गरेको थियो । उनका मामा प्रेमकुमार सदाका अनुसार चिकित्सकहरूले उनको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यही दिन सिद्धार्र्थको आन्द्राको शल्यक्रिया गरिएको थियो । ‘आन्द्रा काटेर जोड्नुपर्छ भनेपछि सहमति जनायौँ,’ प्रेमकुमारले भने, ‘शल्यक्रियापछि सञ्चो हुनुपर्नेमा छटपटाउने, बेहोस हुने भयो । अस्पतालका चिकित्सकलाई सुनाएपछि एक्सरे गरेर हेर्दा भित्र केही ठाउँमा स्टिच नगरी बाहिर मात्र घाउ स्टिच गरिएको रहेछ ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।




