काठमाडौँ, असोज २८ । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।
स्थायी घर गोरखाका गणेश भट्टले दशैँका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राख्नुभएको छ तर सधैँ झैँ व्यापार छैन । उहाँले अघिल्ला वर्षमा एक सयभन्दा बढी तन्ना बेच्नुहुन्थ्यो । ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ । काठमाडौँमा व्यापार गरिरहनुुभएका उहाँ आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार नभएपछि निराश भएको बताउनुुहुन्छ ।
बाटोमा हिँड्डुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उहाँले व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुुको अहिले कारोबार न्यून छ भन्नुभयो । अहिले सपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले पाँच–दस हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुुभव छ ।

दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्केका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको लुगा व्यापारी अनिल बर्माले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।




