काठमाडौं २८ असोज । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि मुख्यमन्त्री शाही र प्रदेशका पदाधिकारीलाई विवाद यथास्थानमा राखेर बिहीबारसम्म पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा उपस्थित हुन पत्र लेखेका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता नेपालनिकट नेतासँग मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल पुनर्गठनलगायतमा सहमति गरेर दलको नेताबाट हटाउने तयारी विफल बनाएलगत्तै ओली र प्रचण्डले अहिलेसम्म चालिएका कदम यथास्थानमा राखेर छलफलका लागि बोलाएका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदमुक्त गर्ने पार्टीभित्रकै प्रयास असफल भएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली संवादमार्फत सहमति खोज्ने विकल्पमा तयार भएका छन् । कर्णालीको शक्तिसंघर्षमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एउटै धारमा देखिएपछि दबाबमा आएका प्रधानमन्त्री ओली संवादको विकल्पमा जान तयार भएका हुन् ।
सोमबार पार्टी अध्यक्ष प्रचण्डले अविश्वासको प्रस्ताव फिर्ता लिन गरेको आग्रहलाई नजरअन्दाज गरेका प्रधानमन्त्री ओली सुर्खेतमा प्रचण्ड–माधव समूह एकैठाउँ आएपछि मुख्यमन्त्रीसहित कर्णाली प्रदेश कमिटीका पदाधिकारी र असन्तुष्ट सांसदलाई काठमाडौं बोलाएर छलफलका लागि तयार भएका हुन् ।

‘सोमबारको छलफलमा प्रधानमन्त्रीले थाहा छैन भन्नुभयो र फिर्ता लिन निर्देशन दिनुभएन । मंगलबार समीकरण बदलिएपछि पत्र लेख्न तयार हुनुभयो,’ कर्णाली प्रदेश नेकपाका एक पदाधिकारीले भने । आइतबार अविश्वासको प्रस्ताव दर्ता गराउने १८ सांसदमध्ये सातजना नेपाल समूहका थिए । उनीहरू मंगलबार प्रस्ताव फिर्ता लिन तयार भएपछि कर्णाली प्रदेशको राजनीति नयाँ दिशामा मोडिएको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।




