काठमाडौं २६ असोज । राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडकमा आइतबार मध्याह्न १२ बजेको चर्को घाममा कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ ।
ज्वरोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् ।
मुहारबाट कान्ति हराएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घरघर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनुपथ्र्यो ।
ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वाथ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो । तर, घामले तात्तिएको सडककिनारमा छन् सोमबहादुर लामा किनकि ‘उनी बेहोस भएका छैनन्’ । कोभिड नियन्त्रण र उपचारका लागि सरकारले तीन महिनाअघि नै १२ अर्ब खर्च गरिसक्यो । तर, एउटा कर्मशील नागरिक देशको राजधानीकै सडकमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् ।
बारा, निजगढ नगरपालिका– ८ का लामा ६२ वर्ष पुगे । डकर्मी÷सिकर्मीको सीप भएका उनको जीवन दुःखसुख चलेकै थियो । साथीहरूसँग मिलेर काठमाडौंको सामाखुसीमा कोठा लिएका थिए । तर, चैतमा पहिलो लकडाउन भएपछि उनको काम खोसियो, काठमाडौंबाट हिँडेरै निजगढ पुगे ।
चार महिना गाउँमा खाली बस्नुपरेपछि परिवारको पेट पनि खाली हुन थाल्यो । ‘काठमाडौंका धेरै मान्छे गाउँ फर्किएका छन्, यो वेला काम पाइएला भनेर असारमा यता आएको हुँ । पैसा कमाइएला भनेर पाँच सयको ठाउँमा हजार रुपैयाँ तिरेर आएको हुँ,’ उनी सुनाउँछन् ।

काठमाडौं आइपुगेपछि उनले साँखुमा काम पाए । तर, तीन दिन मात्र काम गरेपछि साहुले नयाँ अर्डर आएको छैन, आयो भने बोलाउँला भनेर कामबाट निकाले । फेरि काम सुरु हुने आशामा उनी १७ दिनजति साँखुमै बसे । तर, साहुको फर्निचरमा काम सुरु भएन । यो खबर आजको नयाँपत्रिकामा छ ।




