काठमाडौं, २५ असोज । दसैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ। यस्तो बेला कसरी मनाउने दसैं ?
सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। टीका थाप्दा हुने भेटघाट र भीडभाडले संक्रमणको समस्या बढाउने सरकारको बुझाइ छ। सरकारले दसैं किनमेल नगर्न र भएकै लुगाकपडामा दसैं मनाउन पनि भनेको छ।
संस्कृतिविद् पनि यसपटकको दसैं जो जहाँ छ त्यहीँ मनाउन सुझाउँछन्। उनीहरूले टीका थाप्न परिवारलाई बाहिर नजान र आशीर्वादका लागि सामाजिक सञ्जाल प्रयोग गर्न भनेका छन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णयाक समितिका अध्यक्ष प्राध्यापक डा। माधव भट्टराई दसैं साधनामुखी अनुष्ठान गर्ने पर्व भएकाले पारिवारिक जमघट गर्नै पर्छ भन्ने नरहेको बताउँछन्।
भन्छन्, ‘भगवतीको साधनामुखी अनुष्ठानको प्रसादस्वरूप लगाइने टीका, दिइने आशीर्वादका लागि गरिने आवतजावत र पारिवारिक जमघटले संक्रमण फैलिने खतरा हुन्छ। यस्तो अवस्थामा लापरबाही गर्नु खतराको संकेत हो।’

दसैंअघि हाल बजारमा देखिएको भीडभाड बेहोसीपन भएको र यसले धेरैको ज्यान जान सक्ने हुँदा सबैलाई सजग रहन उनको सुझाव छ। धर्मसंस्कृतिअनुसार बनेका थुप्रै नियम वैज्ञानिक दृष्टिले पुष्टि भएकाले सोहीअनुसार काम गर्नु बुद्धिमानी हुने उनको धारणा छ। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।




