काठमाडौंं, २१ असोज । कोरोनाले विश्वका गरिब मुलुकदेखि महाशक्ति राष्ट्रसम्म सबैलाई नराम्ररी प्रभावित पारेको छ। यही महाव्याधिका कारण अर्थतन्त्र ओरालो लाग्दा विश्वभर करोडौंले रोजगारी गुमाउनु परेको छ।
कोरोनाले अर्थतन्त्रमा पारेको असर सन् २००९ मा विश्वव्यापी आर्थिक मन्दीभन्दा बढी देखिएको तथ्यांकले देखाउँछ। रोजगारी पनि यसैले धेरै खोसेको छ, जति विगतमा कुनै महामारीले खोस्न सकेको थिएन।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकको शीर्ष स्थानमा अमेरिकाको नाम छ। यहाँका ३ करोडभन्दा बढी व्यक्तिको प्रत्यक्ष रोजगार गुमेको अध्ययनहरूले देखाएका छन्।
सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीलाई पनि पछि पार्ने गरी यसपटक कोरोनाले अमेरिकी अर्थतन्त्रलाई प्रभावित गरेको छ। अमेरिकामा यो वर्षको अप्रिलमा बेरोजगारीदर १४.७ प्रतिशत पुग्यो। जब कि सन् २००९ को अक्टुबरमा बेरोजगारीदर १० प्रतिशतसम्म पुगेको थियो। अप्रिल महिनामा त अमेरिकामा करिब ७८ प्रतिशतले रोजगारी गुमाएका थिए।
संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व श्रम संगठन (आईएलओ) ले अघिल्लो साता एक प्रतिवेदन सार्वजनिक गरेको छ। कोरोना महामारीले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पारेको असरबारे गरिएको अध्ययनले एक दशकअघि विश्वले भोगेको आर्थिक मन्दीभन्दा कोरोनाको प्रभाव अर्थतन्त्रमा बढी देखिएको पाइएको छ। कोरोना माहामारीका कारण यस क्षेत्रमा रोजगार र आयमा ठूलो संकुचन आएको छ।
प्रतिवेदनअनुसार यस क्षेत्रमा मात्रै करिब ३ करोड ४० लाख नागरिकले रोजगारी गुमाएका छन्। बढ्दो बेरोजगारीलाई हल गर्न नयाँ रणनीति अख्तियार गर्नुपर्ने सुझाव आईएलओको छ।

अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, मेक्सिको, पाराग्वे, पेरु र उरुग्वेमा गरिएको अध्ययनअनुसार त्यहाँका नागरिकको समग्र आम्दानी १९ प्रतिशतले खुम्चिएको छ भने काम गर्ने समय (वर्किङ आवर) पनि २० प्रतिशतमा सीमित भएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा यो क्षेत्रको क्षेत्रीय जीडीपीमा माइनस ९.४ प्रतिशतले संकुचन आउने अनुमान गरेको छ। यो खबर अन्नपूर्ण पोस्टमा छ ।




