काठमाडौं, ५ असोज । कोरोना संक्रमणका कारण सरकारले चैतमा लगाएको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चार महिनामा घर, गाडी र आयात कर्जाको माग अर्बौँ रुपैयाँले घटेको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेका बैंकहरूको मासिक विवरणअनुसार गत फागुन अन्त्यदेखि साउन अन्त्यसम्म यस्ता कर्जामा ३५ अर्बले कटौती भएको छ ।
लकडाउनअघि फागुन मसान्तमा यी तीन शीर्षकमा कुल ५ खर्ब ८५ अर्ब ५० लाख कर्जा प्रवाह भएको थियो । साउन मसान्तमा यी क्षेत्रमा ऋण घटेर ५ खर्ब ४९ अर्ब ६८ करोड ३० लाखमा झरेको छ ।
उक्त अवधिमा प्रतीतपत्र र आयातमा जाने कर्जा १७ अर्ब रुपैयाँले र सवारी कर्जा १० अर्ब रुपैयाँले घटेको हो । त्यस्तै, डेढ करोड रुपैयाँसम्मको घर कर्जासमेत ६ अर्ब ९६ करोड रुपैयाँले कमी आएको छ । यो अवधिमा अधिविकर्ष कर्जा ६ अर्बले घटेको छ ।

कोभिड–१९ को प्रभावसँगै बढेको अनिश्चित अवस्था, लकडाउन र निषेधाज्ञाका कारण बढेको अवरोधले कर्जा लगानी कम भएको हो । समग्रमा यी विविध क्षेत्रमा ४९ अर्बले लगानी घटे पनि अन्य क्षेत्रमा भने ८१ अर्बले लगानी बढेको छ । सोही कारण कुल कर्जा लगानी भने ३१ अर्ब रुपैयाँले वृद्धि भएर ३२ खर्ब ४५ अर्ब पुगेको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।




