काठमाडौं, २७ भदौ । घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ ।
“घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, कौसी खेती प्रवद्र्धनमा लाग्नुभएका नेपाल एग्रो लाइभप्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरे भन्नुहुन्छ । शहरमा सीमित जग्गा हुने अग्ला र घनावस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी खेती गरिन्छ ।
नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम र परामर्श दिन्छ । साना, थोपा र मिस्ट सिँचाइ, बेमौसमी तरकारी उत्पादन गर्न बाँस र फलामका आधुनिक प्लाष्टिक घर बनाउन यसले काम गर्दै आएको छ ।
अहिले कोरोनाले चिन्ता थपेको छ । लकडाउन, कफ्र्यूले घरमै बस्नुपर्दा फुर्सदको उपयोग, शारीरिक परिश्रम र मन बहलाउन यो खेती उपयोगी बनेको छ । यसमा धेरैजसो माटोको प्रयोग गरिएपनि अचेल माटोभन्दा नरिवलको जटालाई धूलो बनाई खदिलो रुपमा तयार पारिएको “कोकोपीट” प्लाष्टिकको झोला “ग्रो ब्याग” मा राखी बिरुवा रोपिन्छ ।

अर्गानिक मलसहितका पौष्टिक तत्व मिसाइन्छ जसले बिरुवा छिटो हुर्कन सघाउँछ । रोगबाट बच्न निमको तेल छरिन्छ । रोग बढी लाग्ने, फोहर र छतमा असर पर्ने हुँदा माटोको तुलनामा कोकोपीटको प्रयोग बढेको छ । पाँच केजीको नौ वटा ब्लक भयो भने त्यसले ५० वटा ग्रो ब्यागमा तरकारी फलाउन सकिने कार्यकारी अधिकृत गैरे बताउनुहुन्छ । प्रदूषण र तापक्रम केही कम गर्न र घरको सुन्दरता बढाउन यो खेती गरेको पाइन्छ ।




