काठमाडौं, २३ भदौ । असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए।
सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने, ‘लगभग नियन्त्रणमा आएको छ।’

उनले विदेशमा नेपाली पहिलाको तुलनामा धेरै सुरक्षित रहेको सुनाए। ‘हाम्रो समुदायमा मात्र कम भएको हो’, उनले भने, ‘हामी बढी सजग भएर स्वास्थ्य मापदण्ड पालना गरेका कारण संक्रमण कम देखिएको हो।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




