काठमाडौं, ११ भदौ । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।
कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या भएपछि गत फागुन २९ गतेदेखि एनओसी वितरण रोकिएको थियो। एनओसी वितरण खुलाएपछि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जान पाउँछन्।
विदेशमा रहेका नेपालीलाई कसरी उद्धार गर्ने भन्ने समस्या परिरहेको अवस्थामा तत्काल एनओसी जारी गर्नु आवश्यक नभएको मन्त्रालयकै अधिकारीले बताएका छन्। विदेशमा रहेका विद्यार्थी त समस्यामा परेको समाचार आइरहेको अवस्थामा फेरि तत्काल किन विदेश जान अनुमति दिनुपर्यो भन्ने तर्क उनीहरूको छ।
सरकारले केही व्यवसायी र विद्यार्थीको दबाबमा यो निर्णय गरेको हो। एनओसी लिए पनि अहिलेको परिस्थितिमा तत्काल विद्यार्थी विदेश जान सक्ने अवस्था छैन। विदेश जान नपाएपछि उनीहरू सम्बन्धित विश्वविद्यालय तथा क्याम्पसमा शुल्क पठाएर नेपालमै बसेर अनलाइनमा पढ्नुपर्ने हुन्छ।

वातावरण सहज भएपछि मात्रै विदेश जान सक्छन्। साथै क्याम्पस तथा विश्वविद्यालयहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा सुरक्षित गर्न पनि विद्यार्थीलाई सजिलो हुन्छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।




