काठमाडौं, १० भदौ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ ।
बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दशैं, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि शुरु गरिने बताउनुभयो ।
पर्यटनमन्त्री भट्टराईले केही पहाडी तथा हिमाली जिल्लाबाट आन्तरिक उडान सञ्चालन गरिने जानकारी दिनुभयो । निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छौँ । कोभिड–१९ महामारीको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्कालै तराईका जिल्लाका विमानस्थलमा आन्तरिक उडान नहुने पनि मन्त्री भट्टराईले स्पष्ट पार्नुभयो ।

यसअघि भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको सरकारले कोभिड–१९ को सङ्क्रमण राजधानीसहित विभिन्न जिल्लामा बढेपछि पुनः उडान स्थगन गरेको थियो ।




