काठमाडौं, ९ भदौ । विराटनगरकी अश्मी रानामगर चीनको आन्हुई प्रान्तस्थित आन्हुई मेडिकल युनिभर्सिटीमा एमबिबिएस इन्टर्नसिप गर्दै थिइन् । गत माघमा जाडो बिदामा घर आएकी उनी चीनमा कोरोना संक्रमण फैलिएपछि यतै रोकिइन् । उनीसँगै अध्ययनरत अन्य मुलुकका विद्यार्थी चीन फर्किसक्दा उनी भने चीन उड्ने दिनको प्रतीक्षामा छिन् ।
झापा बिर्तामोडका आशिष राई पनि जाडो बिदामै घर आएका थिए । उनी पनि गुआङ्सी प्रान्तको युजियाङ मेडिकल युनिभर्सिटीमा एमबिबिएस इन्टर्नसिप गर्दै थिए । ‘चीन फर्किन नपाउँदा पढाइ छुटिसकेको छ, नेपाल मेडिकल काउन्सिलले चीनमै प्राक्टिस गरेको प्रमाणपत्र नभई हाम्रो अध्ययनलाई मान्यता दिँदैन । अब हामीले के गर्ने ?’ उनी प्रश्न गर्छन् । प्रमाणपत्र नल्याई काउन्सिलले उनीहरूलाई लाइसेन्स दिँदैन ।
साङ्सी प्रान्तको सियान जिआओटोनु युनिभर्सिटीमा सर्जरीमा एमडी गरिरहेका चितवनका एंगेल्स न्यौपाने र तियान्जिङ मेडिकल युनिभर्सिटीमा सर्जरीमै एमडी अध्ययनरत काठमाडौंका डा। सुब्रत शर्मा पौडेल पनि जाडो बिदामै घर आएका हुन् । त्यस्तै, काठमाडौंकी डा. रश्मी महर्जन पनि बेइजिङस्थित क्यापिटल मेडिकल युनिभर्सिटीमा अब्स्ट्रेटिक एन्ड गाइनोकोलोजीमा एमडी अध्ययनरत थिइन् । उनीहरू सबै यतै अड्किँदा उता युनिभर्सिटीको पढाइ छुटेको छ ।

न्यौपानेका अनुसार चीनमा अध्ययनरत नेपालमै अड्किएका करिब पाँच सय विद्यार्थी छन् । तीमध्ये तीन सय एमबिबिएस र दुई सय एमडी अध्ययन गरिरहेका छन् । उनीहरूमध्ये कतिपय जाडो बिदामा घर आएका थिए भने कतिपय चीनमा कोभिड– १९ ले महामारीको रूप लिएपछि फर्केका थिए । जाडो बिदामा पनि चीनमै बसेका विद्यार्थी भने गत जुलाईमै पढाइ सकेर स्वदेश फर्किसकेका छन् । ‘चीन फर्किन नपाएर हाम्रो भविष्य भने संकटमा पर्यो,’ न्यौपानेले भने । यो खबर आजको नयाँपत्रिकामा छ ।




