काठमाडौँ, भदौ ८ । कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् ।
बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्कनुभएकी एक महिला भने स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ नगर्नु नै कोरोनाबाट जोगिने अन्तिम विकल्प भएको अनुभव सुनाउनुहुन्छ । दैनिक उपभोग्य वस्तु खरिद गर्ने घर नजिकैको किराना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि ती महिला पनि श्रीमानसहित स्वाब परीक्षणका लागि टेकु पुग्नुभयो तर श्रीमानको रिपोर्ट नेगेटिभ आयो ।
घरमा कोही आउँदा पनि उहाँका श्रीमान मास्क लगाएर कुरा गर्नुहुन्थ्यो । ती महिलाको भनाइ अनुसार मास्क खोलेर कुरा गर्नुभन्दा उहाँ चाहिँ जोखिमको बेला सतर्क हुनुपर्छ भन्नुहुन्थ्यो । कोरोना सङ्क्रमण हुन नदिन सामान्य सतर्कता अपनाउँदा एक दम्पतीका श्रीमान जोगिनु तर श्रीमतीमा देखिनु शरीरको प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) मात्र नभई स्वास्थ्य सतर्कता महत्वपूर्ण भएको पाइएको छ । कोरोना सङ्क्रमितको उपचारमा संलग्न सशस्त्र प्रहरी बल बलम्बुका चिकित्सक डा. प्रविन नेपाल एउटै परिवारभित्र कसैमा कोरोना देखिनु कसैमा नदेखिनुमा इम्युनिटी पावरसँंगै स्वास्थ्य सतर्कता मुख्य भएको बताउनुहुन्छ ।
घरबाहिर निस्कँदा वा घर तथा कार्यालय, आफन्त, परिवार, साथी र बाक्लो जमघटमा पनि सामाजिक दूरी कायम राख्ने, मास्क अनिवार्य, सेनिटाइजरको प्रयोग र सरसफाइमा उचित ध्यान दिने हो भने सङ्क्रमणको जोखिम न्यून हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कतिपय सर्वसाधारणले मास्कसमेत नलाउने गरेको बताउनुहुन्छ । केही दिनअघिको एउटा सर्वेक्षणले ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गरेको देखाएको थियो ।

हामीले उचित ढङ्गले मास्कको प्रयोगसँंगै घर तथा कार्यालयभित्र र घर बाहिर सामाजिक दूरी कायम राख्ने हो भने सजिलै जोगिन सकिन्छ । उहाँका अनुसार मास्क लगाए पनि भीडभाडको यात्रा भने असुरक्षित हुने गर्छ । यो खबर आजको गोरखापत्रमा छ ।




