काठमाडौं, ३ भदौ । संघीय संसद सचिवालयले २० लाख खर्चेर बनाएको प्रतीक (लोगो) संघीय सांसदलाई फटाफट वितरण गरेको छ । तर, वितरित लोगोमा विवाद जन्मिएको छ । मुलुकको नयाँ नक्साअनुसार तयार पारिएको लोगो केही सांसदले नलगाउने बताएका छन् । नयाँ प्रतीक चिह्नका डिजाइनर ८७ वर्षीय टेकवीर मुखियाले पनि आफूले सामान्य ‘रफ’ गरेको लोगो संसद् सचिवालयले छानेकामा असन्तुष्टि जनाएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरका शाखा अधिकृत गणेश राउतका अनुसार लोगोमा प्रयोग भएको चाँदीबाहेक केही काम लाग्दैनन् । हरेक लोगोमा दुई लाल सुनको जलप र एक तोला चाँदीको बेस प्रयोग भएको छ । प्रयोग भएको सुन काम नलाग्ने भएपछि त्यो खर्च कसले बेहोर्ने भन्ने प्रश्न उब्जेको छ ।
‘आर्थिक भार कताबाट बेहोर्ने भन्ने कुरा हो अब, सभामुखलाई यसबारे ब्रिफिङ गरेको छु,’ राउत भन्छन्, ‘यसबारेमा उद्योग कार्यालयमा छलफल गर्छौँ । संसद्ले घरेलु कार्यालयले खर्च बेहोर्ने भनेको छ । उद्योग विभागका महानिर्देशकसँग पनि छलफल गर्छौँ ।’

संसद् महासचिव डा। भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गत आइतबार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए । सोही दिनदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई लोगो वितरण सुरु गरिएको हो । यो खबर आजको नयाँपत्रिकामा छ ।




