भरतपुरमा, ३१ साउन । भरतपुर महानगरपालिकाका बासिन्दाले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीलाई नै मानसिक तनाव दिएका छन् । शुक्रबार उनीहरू ‘आइसोलेसन होम, कोरोना संक्रमित’ लेखिएको ब्यानर बोकेर डाक्टरकै घरमा टाँस्न गएका छन् ।
चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विश्वबन्धु बगालेलाई आइतबार कोरोना संक्रमण देखियो । सोमबार गरिएको परीक्षणमा उनकी पत्नीमा पनि पोजेटिभ देखियो । त्यसपछि परिवारसहित भरतपुर– ४ त्रिचोकको आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका उनलाई शुक्रबार बिहान भने स्थानीय बासिन्दाले झन् मानसिक तनाव दिए । ‘होम आइसोलेसनमा बसिरहेको छु, तर टोल विकास समितिको टोली घरमा स्टिकर टाँस्न आयो,’ डा। बगालेले भने।
उनले टोल विकास समितिको टोलीलाई सम्झाउनुपरेको बताए । ‘नटाँस्नुस्, म आफैँ सुरक्षित तरिकाले बसेको छु । भित्रबाट चाबी लगाएको छु, हामी गेटबाट बाहिर नै आएका छैनौँ, आफ्नो सम्पर्कमा रहेका सबैलाई आफैँले फोन गरेर खबर गरेको छु,’ उनले भने, ‘टोल विकास समितिमार्फत निर्णय नै गरेर ब्यानर टाँस्न आएका रहेछन् ।

मैले निर्णय भएको भए टाँस्नुस् भनेँ । कमजोर मान्छे यो संक्रमणले आफैँ आतंकित हुन्छ, आत्महत्यासम्म गरेका घटना पनि छन्, तपाईंहरूजस्तै मान्छे भएर यो घटना घटेको होला भनेपछि उनीहरू झस्किए ।’ त्यसपछि उनीहरू ब्यानर नटाँसी फर्किएको डा। बगालेले बताए । घरमा स्टिकर टाँस्नुपर्ने कुरा वडाध्यक्ष हरिप्रसाद आचार्यले पनि फोनमा भनेको उनले बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।




