काठमाडौं, २५ साउन । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्।
सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




