काठमाडौँ, साउन २५ । भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ ।
यातायात व्यवसायीले सामाजिक दूरी कायम गर्ने विषयमा अनभिज्ञता प्रकट गरेका छन् । प्राविधिक विषयमा नै विवाद रहे पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण भदौ १ देखि नै लामो दूरीका यातायात चल्ने विषयमा पनि प्रश्न रहेको छ ।
चल्ने भएको खण्डमा आफूहरू लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन तयार रहेको भए पनि सुरक्षा मापदण्डबारे कुनै जानकारी नै नभएको महासङ्घका महासचिव सरोज सिटौलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाडी चलाउने तयारीमा छौँ तर सुरक्षा कस्तो हुने रु अन्योल छ, हामीलाई केही भनिएको छैन । ” कति यात्रु चढाउने, बीचमा चढाउन वा ओराल्न पाइने कि नपाइने भन्ने विषय अन्योलमा नै रहेको छ ।

छोटो दूरीको मापदण्ड लामो दूरीलाई काम नलाग्ने उहाँको भनाइ छ । उहाँले मास्क तथा सेनिटाइजर प्रयोगको कुरा समान्य भएको भन्दै यात्रुको व्यवस्थापनबारे ठोस निर्णय हुनुपर्ने बताउनुभयो । सबै सिटमा यात्रु राख्न पाइने वा नपाइने कुरा पनि लामो दूरीलाई नभनिएको सिटौलाको भनाइ छ । यो खबर आजको गोरखापत्रमा छ ।




