उपत्यकाका १३६ ठाउँमा कोरोना संक्रमित

`

     २०७७ श्रावण २४ गते ४:३१

काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । ‘त्यसमा पनि प्रदेश २ बाट आएकाको संख्या बढी छ । भारतबाट आएका पाँच जना छन्,’ कोइरालाले भने ।

शय्या अभावका कारण शुक्रबार पनि संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । ६८ जना घरकै आइसोलेसनमा बसेका छन् । केही सम्पर्कविहीन र उपत्यकाबाहिर छन् । ‘रोगको उपचार गर्न अस्पताल भर्ना भएका केहीलाई त्यहीं बस्न भनेका छौं,’ कोइरालाले भने ।

शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३४ जना महिला छन् । उपत्यकाको एक परिवारमा सात जनालाई संक्रमण भएको छ भने अर्को एक परिवारमा दुई जना संक्रमित भएका छन् । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ । उपत्यकामा शुक्रबार लक्षणसहितका संक्रमित ३० जना पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । ६ सय ४६ जना सक्रिय संक्रमित हुन् । मन्त्रालयले काठमाडौंसहित ६ जिल्लालाई जोखिममा राखेको छ । साउन १ देखि १२ सम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए । यो खबर आजको कान्तिपुरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?