लहान, २३ जेठ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ ।
सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने र मुखमा मास्क लगाउनुपर्ने बिज्ञहरुले सुझाब दिईरहँदा महिलाहरु अन्धविश्वासलाई पच्छ्ययाउँदै हुल बनाएर कोरोना भाइरसलाई देवी देवताको रुपमा लिँदैै पूजाआजा गर्न व्यस्त छन् ।
नदी तलाउ र मन्दिरमा पुगेर देवीदेवताको पूजाआजा गरिए कोरोना भाइरस समाप्त हुने हल्लै हल्लाका भरमा गाउँगाउँका महिला समूह बनाएर पूजा गर्न जिल्लास्थित प्रमुख नदी तथा जलाशयस्थलमा पुगेर पूजाआजा गर्ने गरेका स्थानीयवासीले बताएका छन् ।
महिला नयाँ लुगा लगाइ डालामा लड्डुु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्तीलगायतका पूजा सामग्री राखेर कमला नदी, बलान खोला तथा गाउँको सिमाना वा खुला ठाउँमा गई पूजाआजा गर्ने लहर चलेको छ ।
देवी देवता रिसाएकाले संसारभर कोरोना कहर बढेकाले देवीलाई खुशी पार्न गाउँ गाउँका महिला जलाशय तथा मन्दिरमा पूजा गर्न पुग्ने गरेका सिरहाको लहान नगरपालिका–१ की ललितादेवी मण्डलले बताउनुभयो ।

कोरोनालाई देवी मानेर पूजाआजा गरी हाम्रो गाउँ टोलमा प्रवेश नगर्नु भनी बिन्ती गरेपछि कोरोना नआउने हल्लाअनुसार नै महिलाले पूजाआजा गर्ने गरेको मण्डलको भनाइ छ ।
“एक महिला झाँक्रीले आफूलाई कोरोना सपनामा आएर मलाई पूजा गर्नु अनि म गइहाल्छु भनेको छ भन्ने हल्ला चलेको छ”, सोही ठाउँकी सोमित्रादेवी दासले भन्नुभयो, “त्यही भएर हामीहरु पनि नजिकैको बलान खोलामा पुगेर पूजा गरेका छौँ ।” बेलुका मन्दिरमा पुगेर दियोसमेत बालेको उहाँको भनाइ छ ।




