काठमाडौं, १९ जेठ । लकडाउन लम्बिँदै जाँदा कामविहीन भएका कोहीले सडकमा मागेर पेट भरिरहेका छन् ।
कोही राहतको भरमा छन् । केहीले ऋण गरेर घर खर्च चलाइरहेका छन् । घर भाडा तिर्न नसकेकाहरू हजारौं छन् । कृषकले उत्पादन बजारसम्म पुर्याउन सकेका छैनन् । उनीहरूलाई अहिले रोगको भन्दा पनि भोगको चिन्ताले सताएको छ ।
लकडाउनपछि कामविहीन बनेका श्रमिक काठमाडौंको खुलामञ्चमा समाजसेवीहरूले उपलब्ध गराएको खाना खाँदै ।
सिन्धुपाल्चोक मुडेका ज्ञानीमाया र पासाङ दम्पती ज्यामी काम गर्थे । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर सरकारले चैत ११ बाट लकडाउन गरेपछि डेरामै थुनिए ।

कमाइ ठप्प भयो । उनीहरूलाई बिहान साँझ हातमुख जोड्न मुस्किल पर्दै गयो । ‘चैतदेखि घर भाडा तिर्न सकेको छैन, रासन सकिसक्यो,’ ज्ञानीमायाले भनिन्, ‘रोगले होइन, भोकले पो मरिएलाजस्तो हुन थालेको छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।




