दार्चुला, २५ वैशाख । लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् ।
डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका–५ का कृष्ण ओड रहेका छन् ।
नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताउनुभयो । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका–५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् ।
लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड–३ का वीरेन्द्र ठगुन्नाले बताउनुभयो । “एक महिनादेखि काम बन्द भयो”, उहाँले भन्नुभयो, “नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।” तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उहाँले बताउनुभयो ।




