काठमाडौँ, जेठ ११ । भारतमा कोरोना भाइरस सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयौं रहेको छ ।
भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।
भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रबार एक हजार १८५ जना नेपालीलाई रुपन्देही भित्र्याइएको बताउनुभयो । “रूपन्देहीकै पालिकाका क्वारेन्टाइनमा ४३० जना बसेका छन् । बाँकी सबै नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, सर्लाही, झापा, धादिङ जिल्लाका स्थानीय तहले लिएर गएका छन्”, उहाँले भन्नुभयो । यो खबर आजको गोरखापत्रमा छ ।




