खगेन्द्र दाहालका निकै मन छुने तीन गजल

`

     २०७७ ज्येष्ठ ०९ गते १०:५४
  • खगेन्द्र दाहाल

 

गजल : १

(उपजाति छन्द)

चुटेर खाने सपना नदेख ।
लुटेर खाने सपना नदेख ।

पिटेर जित्ने युग हैन ऐले,
कुटेर खाने सपना नदेख ।

विनाशकारी अब जेल जान्छ,
छुटेर खाने सपना नदेख ।

सचेत मान्छे जति बन्न थाले,
जुटेर खाने सपना नदेख ।

नङ्ग्रा खियाऊ गर कर्म राम्रो,
धुतेर खाने सपना नदेख ।

सेवा गरे मिल्छ सदैव मेवा,
थुतेर खाने सपना नदेख ।

गजल : २

(उपजाति छन्द)

पुनः सिमाना मिचिने त हैन ?
तस्वीर मात्रै खिचिने त हैन ?

सदैव भोका जन लाख हामी
बेचेर सीमा घिचिने त हैन ?

हाम्रा सिमाना तल माथि भा’छन्
खम्बा अझै ती किचिने त हैन ?

मेची र काली जलधार क्षेत्र
बेचेर अन्तै सिचिने त हैन ?

पुर्खा झुकेको इतिहास छैन
इमान हाम्रो निचिने त हैन ?

अझै छ शङ्का गरुँ काम पक्का
माटो यताको थिचिने त हैन ?

गजल : ३

नेपाली हामी, शत्रुका सामु, झुकेका कहाँ छौँ ?
देशको रक्षा, नगरी हामी, लुकेका कहाँ छौँ ?

प्राणको बाजी, राखेर हिजो, सपुत लडेथे
अहिले हामी, त्यो बाटो हिँड्न, चुकेका कहाँ छाँै ?

सगरमाथा, काँधमा बोकी, समुन्द्र तर्दैछौँ
पराई सामु, पराल बनी, सुकेका कहाँ छौँ ?

बाढी र पैह्रौ, रोग र शोक, भूकम्प पचायौँ
दुई छाक खान, नपाई दैलो ढुकेका कहाँ छौँ ?

पौरख रोपे, फल्दछ सुन, यहाँको माटोमा
यो मरुभूमि, भनेर धर्ती, थुकेको कहाँ छौँ ?

रतुवामाई-६, मोरङका, हाल  श्री विद्याधिश्वरी मा.वि, वागमती-६, आश्राङ,
ललितपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?