भोजपुर, ४ जेठ । वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो।
गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई एम्बुलेन्समार्फत विराटनगरको कोरोना विशेष अस्पताल लगियो। अहिले ती युवा निको भइसकेका छन्। तर, संक्रमित ती युवकलाई पुर्याउने एम्बुलेन्स चालकलाई भने अमानवीय व्यवहारको शिकार हुनुपरेको छ।
कोरोना बिरामी बोकेको भन्दै स्थानीयवासीबाटै ‘छि छि र दूरदूर’ को अपमान पाएपछि पिरोलिएका हुन्, एम्बुलेन्स चालक मचिन्द्र राई। बिरामीको उपचार सेवामा दिनरात कच्ची, धुलाम्मे, हिलाम्मे यात्रा नभनी निरन्तर सेवामा समर्पित राई सेवाको नाममा उल्टै अपहेलित भएको उनी गुनासो पोख्छन्।
‘पशुलाई पनि राम्रो व्यवहार गरिन्छ होला, मलाई छैन। कोरोना बिरामी बोक्यो भन्दैमा मलाई कोरोना लाग्छ र रु ’, उनले गुनासो थपे, ‘कसैकोमा एकरात बास बस्न त के पिउने पानीसमेत दिन मान्दैनन्।’ कोरोनाको उपचारमा खट्ने एम्बुलेन्स चालक र प्रभावित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी अपमान झेल्न बाध्य छन्।

नागरिकको स्वास्थ्योपचारमा दिनरात खटेका बेला गलत मानसिकताको शिकार हुनुपरेको उनीहरू गुनासो गर्छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




