काठमाडौँ, वैशाख ९ । घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ ।
काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।
खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले गौशाला–चाबहिल सडक खण्डको निर्माण कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार, गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि पूर्वमा चुच्चेपाटी र उत्तरमा धोबीखोला पुलसम्म सडक निर्माण सुरु गरिएको हो । यसै महिनाभित्र उक्त निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो खबर आजको गोरखापत्रमा छ ।




