धनगढी, चैत २३ । भारतबाट फर्किएका ९१४ जनाको भीड । चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न भने पाएन ।
नेपाल–भारत सीमा नाका बन्द गरिएकोले सुरक्षा निकायले उनीहरुलाई सिमानामै रोक्यो । नाकामै रात कटाएका नेपालीले चैत ११ गते विहानै नारा जुलुस गरे । उनीहरुको भीड जबरजस्ती नेपालतर्फ अगाडि बढेपछि सुरक्षाकर्मीले सामान्य बलसमेत प्रयोग गर्नुप¥यो । र, त्यो भीड पछाडि हट्यो ।

झन्डै २८ घण्टा नाकामै रोकिएको भीडमा सुदूरपश्चिम प्रदेशकोमात्रै नभई अरु प्रदेशका गरी १९ जिल्लाका ९१४ जना थिए । त्यही भीडमा हुनुहुन्थ्यो, कैलालीको लम्कीका २१ वर्षीय युवा । जसलाई कोरोना पोजेटिभ रहेको आजमात्रै पुष्टि भएको छ ।
मुम्बईबाट घर फर्किनु भएको उहाँलाई १३ दिनपछि कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो । भारतबाट फर्किएका विभिन्न जिल्लाका व्यक्तिहरुसंग उहाँले नाकामा झन्डै २८ घण्टा बिताउनु भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




