कैलाली, १९ चैत । कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराउनुभएको छ । चौधरीले मङ्गलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गर्नुभयो ।
उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण गरेको छ । चौधरीले नगरपालिकाको क्वारेन्टाइमा बसेका नागरिकका लागि दैनिक ५० दर्जन केरा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । ‘‘यस्तो विपत्तिको समयमा मेरो पनि केही दायित्व हुन्छ भन्ने ठानेर क्वारेन्टाइमा बस्ने नागरिकका लागि दैनिक आवश्यक केरा उपलब्ध गराउन थालेको हुँ ।’’ सत्तारुढ नेकपाका सुदूरपश्चिम प्रदेश कमिटीका सचिव चौधारी भन्नुभयो, ‘‘दिनभरि कार्यक्षेत्रमा खटेका नागरिक र क्वारेन्टाइमा बसेकालाई विषादी प्रयोग नगरिएका केरा वितरण गर्न थालेको छु ।’’

नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइमा हाल ३३ नेपाली छन् । नगर प्रमुख तपेन्द्रबहादुर रावलले सहयोगी चौधरीलाई धन्यवाद दिनुभयो । ‘‘चौधरी जस्ता मनकारीहरुले सहयोग पनि गर्न थाल्नुभएको छ । क्वारेन्टाइमा बसेकाका लागि हामीले मञ्जन, साबुनदेखि खानासम्म आवश्यक सबै प्रबन्ध मिलाएका छाँै।’’




