कञ्चनपुर, १२ चैत। विभिन्न कामको सिलसिलामा भारतमा रहेका नेपाली स्वदेश फर्किने क्रम रोकिएको छैन । तर, सरकारले नाकामा रोक्दा काखमा शिशु च्यापेका सुत्केरीदेखि भर्खर शल्यक्रिया गरेका बिरामी दसगजा क्षेत्रमा घन्टौँ छटपटाउन बाध्य भए ।
भारतको सीतारगन्जस्थित पद्मा अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका महेन्द्रनगर–४ का रामबहादुर खड्का (बायाँ) र पाठेघरको शल्यक्रिया गरेर फर्किएकी वेदकोट–२ सिसैयाकी ठगुदेवी सार्की मंगलबार गड्डाचौकी नाकापारि दसगजा क्षेत्रमा । सीमामा १२ घन्टा अलपत्र परेपछि साँझ घर फर्किन पाएका छन् । कञ्चनपुरको गड्डाचौकी नाकामा सोमबार मिर्मिरेमै आइपुगेका बिरामी १२ घन्टासम्म अलपत्र परे ।
मंगलबार बिहान भिडमा ६० वर्षीय बर्मा जोशी पनि भेटिए । पेट दुख्ने समस्या भएपछि भारतको सीतारगन्जस्थित पद्मा अस्पताल पुगेकी टीकापुर नगरपालिका–२ कैलालीकी उनको पित्तथैलीको अपरेसन भएको थियो । अस्पतालले अपरेसनको सात दिनमा सोमबार राति डिस्चार्ज गरिदिएपछि उनी आलै घाउ घर फर्किएका थिए । तर, नाका आइपुग्दा रोकिएपछि वृद्ध रातभर अलपत्र परे । उनी चउरमा पेट समाएर छटपटाइरहेका थिए ।

जोशीसँगै नाकामा रोकिँदा चउरमा छटपटाइरहेका थिए ठगु सार्की र राम खड्का पनि । कञ्चनपुरको बेदकोट नगरपालिका–६, सिसैयाकी ४५ वर्षीया सार्कीको पनि पदमा अस्पतालमै सात दिनअघि पाठेघरको अपरेसन भएको थियो । कञ्चनपुरकै भीमदत्त नगरपालिका–४, महेन्द्रनगरका ६१ वर्षीय राम खड्काको भने ८ दिनअघि पित्तथैलीको अपरेसन भएको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।




