काठमाडाैं, २७ फागुन । हालसम्म नेपालमा एक जनालाई मात्र कोरोना भाइरसको संक्रमण देखिएको र ति व्यक्ति पनि अहिले स्वस्थ भईसकेको बताईएको छ । माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
कोरोनाको संक्रमण देखिएपछि आफु घर गएको र घर मै उपचार गरेर अहिले स्वस्थ भएको नले बताएका छन् । नाम गोप्य राखिएका नेपालगन्जका ति युवाले नेपाल आफ्नो अनुभव साटेका छन् ।
यस्तो छ उनको अनुभव :
हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ।
चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः काठमाडौं फर्किएं, र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे। सामान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए। ल्याब परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले टेकू अस्पतालको विशेष कक्षमै भर्ना भए । तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छोडें। अस्पताल छोडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो। अस्पताल पुग्दा कोरोना भाइरस भएको अर्थात पोजेटिभ रिपोर्ट आएछ, यो सुनेर म आत्तिएँ।
अस्पतालले अब एक्लै अस्पतालको छुट्टै कोठामा बसेर उपचार गराउनुपर्छ भन्ने जानकारी गरायो। मेरा लागि अस्पतालमा बस्नु भनेको जेल जीवन बिताएजत्तिकै कठिन थियो। मैले अस्पताल छोडे। अस्पताल प्रशासनले पनि लाचारी देखायो, डाक्टरहरू स्वयं पनि रोगसँग डराएको पाएँ र आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै घर फर्कें।

अस्पतालले पनि कोरोना भाइरसको औषधी दिन नसक्ने बुझेको थिए । माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफैले गरे। एक सातापछि फेरि परीक्षणका लागि अस्पताल पुगे। मेरो ¥यालको पुनः परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेनटाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।
कोरोना भाइरस शुरुकै अवस्थामा पहिचान भई उपचार गरे घरमै पनि निको पार्न सकिन्छ । घरमा विशेषतः तातो सुप, तातोपानी, जाउलोजस्ता खानेकुरालाई नियमितता दिएकै कारण निको भयो । पानीलाई नै औषधि मानेर बाँचें। म घरमा छुट्टै कोठा र शौचालय प्रयोग गर्थे, मलाई सघाउने परिवारका सदस्यसँग पनि आमुन्ने–सामुन्ने र निकट भएर बस्दैनथे। सरसफाइ र संक्रमणमा कडाइका साथ ध्यान दिएका कारण निको भएँ नै, अरूलाई पनि रोग सारिन।




