ललितपुर, ११ फागुन । खोकना महोत्सवको अवलोकन गर्न पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई खोकनाबासीले त्यहाँको मौलिकता जोगाइदिन आग्रह गरेका छन्।
खोकनाको मौलिकता बचाउन केही दिनअघि माइतीघर मण्डलामा जुलुस प्रदर्शन गरेको सन्दर्भ जोड्दै उनीहरूले भने–‘विभिन्न विकासे आयोजनाले यहाँको मौलिकता हराउने निश्चित छ। ती आयोजनाहरू अन्यत्र सार्नुपर्यो।’

ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले पनि खोकनाबासीको उक्त भनाइमा जोड दिनुभयो। फास्टट्रयाक, ३२ केभी राष्ट्रिय प्रसारण लाइन, बाहिरी चक्रपथजस्ता आयोजनाले खोकनाको सांस्कृतिक सम्पदा संकटमा परेकोप्रति सांसद् भुसालले ध्यानाकर्षण गराउनुभयो।
उद्घाटनसत्रका क्रममा ६० जना वाद्यवादकले नेवाः बाजा अर्केस्ट्राको प्रस्तुति गरेका थिए। सो कला हेरेर दंग परेका गृहमन्त्री थापाले भन्नुभयो–‘काठमाडौं उपत्यकाको मौलिकता खोकनामा अझै जीवन्त छ। यसलाई बचाउनुपर्दछ। गृह मन्त्रालयको तर्फबाट पुरापुर सहयोग हुनेछ।’ यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।




