काठमाडौं, ११ फागुन । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पु¥याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
निगमले फाुगनभित्रै नयाँ पम्पको स्वीकृत दिने तयारी गरेको छ । प्रवक्ता गोइत भन्नुहुन्छ, “हामीले छानबिन गरेर कार्यकारी निर्देशककोमा पठाएका छौँ, अब अन्तिम प्रक्रियामा छ, मापदण्ड पूरा गरेका र आवश्यकता रहेका स्थानमा सबैले स्वीकृत पाउने छन् ।”
नयाँ पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रका लागि गत वैशाखमा आवेदन खुलाएका थियो । त्यसमा सबैभन्दा धेरै प्रदेश २ बाट ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २२ वटा मात्र छन् । त्यस्तै प्रदेश १ बाट १८९, बाग्मती प्रदेशबाट १३१, गण्डकीबाट २७, प्रदेश ५ बाट दुई सय र सुदूरपश्चिम प्रदेशबाट ५६ वटा आवेदन परेका छन् ।

निगमले चलिरहेका पम्पहरू केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याएर आवेदन खुलाएको हो ।
नेपालमा हाल एक हजार पाँच सय पम्प छन् । एक हजार २५ वटा नयाँ आवेदन परेका छन् । नयाँ सबैले इजाजत पाए भने पम्पको सङ्ख्या दुई हजार पाँच सय पुग्ने छ । यो खबर आजको गोरखापत्रमा छ ।




