काभ्रे, फागुन ५ । क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । मापदण्डविपरीत सञ्चालित त्यस क्षेत्रका क्रसर उद्योगका कारण सडक असुरक्षित बन्दै गएको हो ।
बनेपा–नेपालथोक–सिन्धुली–बर्दिबास जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण हिउँदमा सुक्खा पहिरो तथा वर्षायाममा धुलो सडकमा आउँदा सडक अवरुद्ध हुने गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका क्षेत्रमा बढी क्रसरका कारण जोखिम बढेको स्थानीयको भनाइ छ ।
सडकभन्दा माथि सञ्चालित उद्योगले सडकमा बढी जोखिम भएको उनीहरूले बताए । यसै क्रममा रोशी गाउँपालिका–८, डिप्सामा रहेको नाङ्साल क्रसर उद्योगले बीपी राजमार्गभन्दा माथि ढुङ्गा निकाल्दा पहिरो आएपछि अर्को वैकल्पिक मार्ग रोशी खोलाको किनाराबाट सञ्चालनमा ल्याएको छ । माघ ११ देखि सडकलाई डाइभर्सन गरिएको छ । माथिबाट ढुङ्गा खस्न थालेपछि उक्त डाइभर्सन बनाइएको हो । माघ २६ गते राति पनि सुक्खा पहिरो झरेको स्थानीयले बताए ।

करिब दुई सय मिटर सडक रोशी खोलाको किनाराबाट क्रसर सञ्चालकले निर्माण गरेर सञ्चालनमा ल्याएका छन्। रोशी गाउँपालिका, इलाका प्रहरी कार्यालय मङ्गलटार र नाङसाल क्रसर उद्योगबीच सडक अवरुद्ध नहोस् भन्नका लागि वैकल्पिक मार्ग खनिएको उद्योगका सञ्चालक वाङचु लामाले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




