काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले बिरुवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन्। सरकारको दुई वर्षको उपलब्धि विवरण शनिबार संसद्मा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले सुरु गरेका काम अहिल्यै फुलिसकेरफलिसके भन्ने होइन। बिरुवा रोप्ने काम भएको छ। कतै उम्रिँदै छन्, कतै टुसाउँदै छन्, कतै हुर्किंदै पनि छन्।’
प्रधानमन्त्री ओलीले भने, ‘रोम वाज नट बिल्ट इन वान् डे (एकै दिनमा त रोम पनि बनेको थिएन)।’ उनले जनतामा अनूभूति हुने गरी सरकारले दुई वर्षमा केही काम गरेको दाबी गरे। सरकारले प्रगतिका आँकडा प्रस्तुत गर्दा जनताको इम्प्रेसनको कुरा उठाउने गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा बेलाबेलामा म विस्मित हुने गर्छु। भनौं कि जस्तो पनि लाग्छ– ठिकै छ। अंकमा होइन, अनुभूति नै सही– इन्डेक्स होइन, इम्प्रेसनकै कुरा गरौं न त १’
प्रगतिका अंक र आँकडामाथि प्रश्न गर्ने गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए। उनले भने, ‘पहिले सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा ‘गफ गरेर हुन्छ, गर्छु होइन, गरें भन्नुपर्यो, काम गरेको देखिनुपर्यो नि– तथ्य खोइ रु ’ भन्ने सुन्थें। अहिले परिवेश अलि भिन्न छ। यो एक वर्षदेखि एउटा थेगोजस्तै– ‘अंक र आँकडाबाट हुन्छ रु ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन’ के छ बुझ भन्ने जस्ता कुरा सुनिन थालेको छ।’

विगतमा ७/८ महिनामा सरकार फेरिरहने अवस्थामा २४ महिना एउटै सरकारले पार गर्नु पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने ओलीले बताए। उनले पहिलो वर्ष आधार वर्ष र दोस्रो वर्षलाई विकासको आरम्भ वर्षका रूपमा लिएको बताए।
वित्तीय संघीयता कार्यान्वयनमा आएको, कर्मचारी समायोजन सम्पन्न भएको र संघीयताले कार्यारम्भ गरेको ओलीले बताए। उनले मुलुक अहिले उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० प्रमुख मुलुकको पंक्तिमा समावेश भएको जानकारी दिए। तीन वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि रहेको, प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी १८ प्रतिशतभन्दा बढेको, प्रत्येक वर्ष गरिबीको रेखामुनि रहने प्रतिशत, जनसंख्याको १.५ बिन्दुले घटेको र गरिबी निवारण मात्रै होइन, उन्मूलन नै गर्ने गरी सरकार अघि बढेको ओलीले बताए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।




