डडेलधुरा,०१ फागुन । किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक एक छोरा र एक छोरीलाई जन्म दिनुभयो ।
स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो । छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोग्रामकी छोरीसहित सार्की यति बेला पोषण पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ ।
छोरी कसरी कुपोषित भइन् भन्ने कुरा यी २२ वर्षीया आमालाई थाहा छैन । कुपोषण पुनस्र्थापना केन्द्रमा पोषण र हेरचाह पाएपछि उहाँकी छोरीको तौल विस्तारै बढिरहेको केन्द्रका अनमी पार्वती ओझाले बताउनुभयो ।

डोटी जिल्लाको गैराकी २१ वर्षीया डम्बरी ओली दोस्रो पटक आमा बनेको ११ महिना भयो । उहाँको पहिलो छोरी चार वर्षकी भइन् । दोस्रो छोरी भने कुपोषणका कारण कम तौलकी छन् । “खोप लगाउन जाँदा छोरीको तौल कम भएको थाहा पाएँ”, एक वर्ष पुग्नै लाग्दा पनि जम्मा छ किलोकी छोरी लिएर पोषण पुनस्र्थापना केन्द्र आउनुभएकी ओलीले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




