संखुवासभा, २५ माघ । नेपाली सेनाको हेलिकोप्टर खाद्यान्न बोकेर संखुवासभाको किमाथांकामा पुगेको छ ।
कोरोना भाइरसको महामारी फैलिएसँगै चीनले किमाथांका नाका बन्द गरिदिएपछि सो क्षेत्रमा खाद्यान्न संकट पर्न थालेको छ । उक्त संकट टार्न खाद्यान्न बोकेर सेनाको हेलिकोप्टर आज बिहान भोटखोला गाउँपालिका–१ किमाथांकामा अवतरण गरेको बताइएको छ।
चीनले माघ ५ गतेबाट अनिश्चितकालका लागि किमाथांका नाका बन्द गरेपछि यस क्षेत्रमा खाद्यान्न संकट भएको हो। किमाथांकामा आज हेलिकप्टरमा चामल, नुन,तेल लगायतका खाद्यान्न सामग्री लिएर किमाथांका पुगेको जनाइएको छ ।
हेलिकप्टरमा ६,३५० किलोग्राम चामल, ३०० किलो नुन, १८० किलो तेल, ६०० किलो मकै लगायतका खाद्यान्न ढुवानी गरिएको अध्यक्ष भोटेले जानकारी दिए।
भोटखोला–१ किमाथांकाका ८६ घर परिवार, भर्खरै स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीले खाद्यान्न अभाव भोगिरहेका छन्।




