काठमाडौँ, माघ २३ । सेवाग्राहीले अब घरमै बसी – बसी राहदानी प्रक्रिया अगाडि बढाउन सकिने भएको छ । राहदानी विभागले लाग्ने शुल्क अनलाइनबाटै तिर्न पाउने सेवा सुरु गरेपछि सर्वसाधारणले घरमै बसेर राहदानी पाउने भएका हुन् ।
यसअघि बैङ्कमा लाइन बसेर राहदानीबापतको शुल्क तिर्नुपर्ने प्रावधान थियो । राहदानी फाराम भने अनलाइनमै भर्ने सुविधा रहे पनि लाग्ने शुल्क तिर्न भने बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यता थियो । शुल्क तिरेको बैङ्क भौचरसहित फाराम भरेपछि मात्र राहदानी बन्थ्यो ।

राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भन्नुभयो, “अब पैसा तिर्न पनि लाइन बस्न नपर्ने भएको छ । घरमै बसी -बसी राहदानीका लागि आवेदन दिन र शुल्क तिर्न पाइन्छ ।” राहदानी विभागको वेबसाइट नेपाल पासपोर्ट डट जीओभी डट एनपी खोल्नासाथै दायाँपट्टि हरियो रङमा अनलाइन पेमेन्ट लेखिएको छ । त्यहाँ अनलाइनबाटै कसरी शुल्क तिर्ने भन्ने जानकारीसहितको विकल्प दिइएको छ ।
विभागले राजस्व व्यवस्थापन सूचना प्रणालीको अनलाइन सफ्टवेयरको सञ्जाल प्रयोग गरी विभागले अनलाइन पेमेन्ट सेवा सुरु गरेको हो । याे खबर आजको गोरखापत्रमा छ ।




