काठमाडौँ, १६ माघ । राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वाचित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो ।
राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचित १८ र मनोनीत एक जना गरी १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सुरु भएसँगै समितिमा सभापति र सदस्यहरूको हेरफेर हुनेछ ।
राष्ट्रिय सभा नियमावली, २०७५ मा यस्तो हेरफेरसम्बन्धी व्यवस्था गरिएको छ । प्रत्येक समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था गरिएको छ । समितिको कार्याविधि समाप्त भएमा समितिको सभापति पद रिक्त हुने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रत्येक दुई वर्षमा नयाँ सदस्यहरू आउने व्यवस्था भएको हुँदा नयाँ आउने सदस्यहरूको व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको बताउनुभयो । उहाँले सभापतिबाहेक अन्य सदस्यको कुनै पनि बेला समिति हेरफेर हुनसक्ने जानकारी दिनुभयो ।
आवश्यकता र मागका आधारमा सदस्यहरूको हेरफेर हुने व्यवस्था रहेको छ । यसको अधिकार अध्यक्षमा सुरक्षित रहन्छ । सम्बन्धित सदस्यले कुनै पनि समितिमा काम गर्न इच्छा व्यक्त गर्न सक्ने र कुनै संसदीय दलले सदस्यलाई कुन समितिमा रहँदा प्रभावकारी हुनसक्छ भन्ने आधारमा फेरबदल हुनसक्ने व्यवस्था रहेको छ । धमलाले भन्नुभयो, “संसदीय दलमार्फत अध्यक्ष समक्ष सिफारिस भइआएमा अध्यक्षले हेरफेर गरी सभामा सुनाउनुहुन्छ । ”

सङ्घीय संसद्को स्थायी सदनको रूपमा रहेको राष्ट्रिय सभामा ५९ जना सदस्य रहने व्यवस्था छ । प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित आठ जना गरी निर्वाचित ५६ र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक जना महिलासहित तीन जना गरी ५९ जना सदस्य छन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




