पोखरा, १६ माघ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ ।
चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ । सङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर गरेका फर्किइसकेको व्यवसायी सोम थापाले बताउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनमा देखिएको कोरोना भाइरससँगै अन्नपूर्ण क्षेत्रमा देखिएको हिमपहिरोका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटकको आगमन दर पनि निकै न्यून रहेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० पोखराका अध्यक्ष हरि भुजेलले अन्नपूर्ण हिमपहिरो र कोरोना भाइरसको त्राससँगै कतिपय पर्यटकले बुकिङ नै रद्द गर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयोे, नेपाल भ्रमण वर्ष २०२० लाई समेत यो भाइरसले असर गर्ने प्रस्ट सङ्केत देखिएको छ ।

केही दिन अगाडि मात्र भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ गरेको नेपाली पर्यटन क्षेत्रले शृङ्खलाबद्ध बाधाहरू झेल्दा निकै मार खेप्नु परिरहेको छ । अन्नपूर्ण क्षेत्रमा आएको हुदहुद आँधी, अघिल्लो शुक्रबार सोही क्षेत्रमा हिउँपहिरो आउँदा कोरियाली र नेपाली पदयात्री हराउनु, धौलागिरि क्षेत्रमा आरोहीको मृत्युजस्ता कैयौँ घटनाको मार पर्यटन क्षेत्रले झेल्दै अएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




