बाह्रबिसे, ५ माघ । बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएकाे क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्तिहरू एकै ठाउँमा भेला हुन नपाइने भएकाे छ ।
advertisement
सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा बाटो विस्तार गर्ने क्रममा अवरोध सिर्जना भएपछि निषेधाज्ञा जारी गरेकाे बताइएकाे छ । बाटो विस्तारको नाममा समन्वय समेत नगरी नगरपालिकाले जबरजस्ती गरेको भन्दै अवरोध गरेपछि निषेधाज्ञा जारी गरेको जनाइएकाे छ । चारकिल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
पूर्वमा बाह्रबिसे बजारबाट ३०० मिटर पूर्व, पश्चिममा भोटेकोशी खोला पुल, उत्तरमा इलाका प्रहरी कार्यालय बाह्रबिसे नगरपालिका वडा ४ र दक्षिणमा बाह्रबिसे बजारबाट पिस्कर जाने बाटोको सुनकोशी चोकको बीचमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने जनाइएको छ ।
नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काइपछि आक्रोशित बनेका सडक अतिक्रमणकारीले बजार क्षेत्रमा नारा जुलुस गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए ।



