काठमाडौँ, २ माघ । पश्चिमी न्यून चापीय वायु प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएपछि आज (बिहीबार) देशैभरको मौसम बदली भएको छ ।
बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ । मौसमविदका अनुसार पश्चिमी न्यून चापीय वायु प्रणालीकाे कारण देशका धेरैजसो भू-भागमा पानी पार्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
advertisement
भोलि शुक्रबारसम्म नै यस्तै मौसम अवस्था जारी रहनेछ भने शनिबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ । आज दिनभर काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा घाम लाग्ने सम्भावना कम रहेको छ । काठमाडौँमा अहिले मौसम बदली भएको छ र दिउँसोसम्म पानी पर्नेछ ।
बदली भएसँगै चिसोको मात्रा पनि बढेको छ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकामा न्युनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौँको अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान छ ।




