नेपालमा अपराध कर्ममा संलग्न चिनियाँको कनेक्सन नेपालकै बहालवाला आइजीपीदेखि मन्त्रीसम्म रहेको तथ्य खुलेको छ ।
यस्ता अपराधीको कनेक्सन नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र विभिन्न मन्त्रीससम्म रहेको जनाइएको छ । यस्ता अभियुक्त कतिपय अवस्थामा गिरफ्तार र फरार हुँदै आइरहेका छन् । त्यस्तै, उपराष्ट्रपतिपुत्र दीपेश पुन, गृहमन्त्रीपुत्र लगायत आधा दर्जन नेपाली यस्ता व्यक्तिहरूसँग साँठगाँठ रहेको भनेर विवादास्पद घटनामा मुछिँदै आएका छन् । नेपाली गिरोहहरू क्रमशः मञ्जिल, अमला, दीपक बुढा मगर, सीता राना मगर, सुनिल अग्रवाल, दिलीप आचार्य, गोविन्द सापकोटा, निस श्रेष्ठ र सागर पाली चिनियाँ गिरोहसँग काम गर्ने गिरोह हुन् । यही सम्बन्धका कारण चिनियाँले नेपालमा गरिरहेको कतिपय अपराधले माफी पाइरहेको जनाइएको छ।
अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँलाई नेपाल प्रहरीले ७ पुसमा काठमाडौँ, मनमैजु, बुढानीलकण्ठ लगायत स्थानमा छापा मारेर पक्राउ गर्यो । तर प्रधानमन्त्री निवास सम्मुख र चिनियाँ दूतावास छेउमा भने चिनियाँको शङ्कास्पद गतिविधि हुने गरेको उजुरी परे पनि छापा मारिएन । प्रहरी अधिकारीसँगको सम्बन्धका कारण यस्तो भएको हो ।
चीन सरकारले भने काठमाडौँमा १ सय २२ जना चिनियाँ नागरिकलाई दुवै देशको संयुक्त कारवाहीमा पक्राउ गरिएको जनाएको छ।
चीनको विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गेङ सुआङले पक्राउ परेकाहरू सीमापार साइबर अपराधमा संलग्न भएको बताए। थपमा उनले भने, ‘मसँग अहिले भएको जानकारीअनुसार ती नागरिकहरू सीमापार साइबर जालसाजीका सन्दिग्ध हुन्, र त्यस सम्बन्धी विषयमा अहिले अनुसन्धान भइरहेको छ’ प्रवक्ता गेङले भने, ‘यो नेपाल र चीनको प्रहरीले गरेको महत्त्वपूर्ण कारबाही हो’।
गृहका उच्च अधिकारीका अनुसार चिनियाँ दूतावासका विशिष्ट अधिकारीहरूले गृहसँगको समन्वयमा कारबाही अघि बढाएका हुन्।
त्यसो त आम जनताले गुण्डा र आपराधिक कर्ममा जोडिएका हरूसँग नेता र देश चलाउने मन्त्रीले गर्ने उठ्बस् नरुचाए पनि राजनीतिक दल र तिनका नेतादेखि प्रहरी अधिकारीहरूसम्म जोडिने क्रम जारी छ ।




