२०७६, पुस १०, बिहीवार
आमाको हत्या गराउने क्रूर छोरी र प्रेमी सहित चार जनालाई सर्वस्वसहित जन्मकैदको फैसला गरिएको छ । फैसला भक्तपुर जिल्ला अदालतले गरेको हो ।
गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर चाँगुनारायण नगरपालिका–७ मा ६० बर्सिया आमा सावित्रा भट्टराईको हत्या गरेकी थिइन्।
इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँ, सिन्धुपाल्चोककी भट्टराई आफ्नी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। हत्याको विषयमा अनुसन्धान गर्दा प्रहरीले हत्यामा छोरीकै संलग्नता रहेको ठहर गर्दै छोरी ईश्वरी, सिराहाका मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रईशलाई पक्राउ गरेको थियो।

श्रेस्तेदार घनेन्द्र अधिकारीका अनुसार बिहीवार न्यायधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग माग दाबी बमोजिम छोरी ईश्वरी र हत्यामा संलग्न अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको हो।
छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण आमाको हत्या गराएकी थिइन् ।
अदालतको अनुसार छोरी ईश्वरीले १२ लाख रुपैयाँ सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टि भएको हो। भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले भने, प्रेमीसँग मिलेर ईश्वरीले आमाको हत्या गर्न भारतीय कन्ट्रायक्ट किलर भाडामा प्रयोग गरेकी थिइन्।




