अहिले जारी साग अन्तर्गत कुस्ती खेलमा नेपाललाई नै पहिलो पटक ऐतिहासिक स्वर्ण दिलाउन सफल भएपछि सङ्गीता धामी एकाएक भक्कानिइन । जितको खुसीमा आँसु थाम्न नसकेर रुन थालेपछि कवर्डहलमा उपस्थित दर्शक पनि एकाएक भावुक बनेका थिए ।
सङ्गीता स्वर्ण जितेपछि आफूलाई त्यो स्थान सम्म ल्याइपु¥याउन कठिन सङ्घर्ष गरेकी आफ्नी आमाको हृदयविदारक कथा सम्झेर रोएकी हुन् । उनी सम्हालिन नसकेपछि प्रशिक्षक र सहयोगीले उनलाई सम्हालेका थिए ।

सङ्गीताले भावुक मुद्रामा भनिन, ‘बहिनी सानै छँदा बुवा आमालाई छोडेर अन्तै जानुभयो, त्यसयता आमा नै हाम्रो लागि सबैथोक हो। आमाले भैँसी पाल्नुभएको छ। दूध बेचेर हाम्रो शिक्षा दीक्षा पूरा गर्नुहुन्छ,’ ।
आफ्नो जितपछि आमाको कडा सङ्घर्षप्रति अत्यन्त कृतज्ञ बन्दै सङ्गीताले भनिन्, मैले आज जितेको स्वर्ण मेरी आमालाई हो।
बङ्गलादेशकी रिमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपाललाई कुस्तीमा पहिलो पटक ऐतिहासिक स्वर्ण पदक दिलाउन सङ्गीता सफल भएकी हुन्।
सङ्गीता धामीको घर सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका – ३ नौलाखेत तिलकपुर हो ।
१९ वर्षीया धामी अध्ययन र खेलको जिम्मेवारी सँगसँगै पूरा गरिरहेकी छन्।

खेलसँगै उनी अहिले बिएड पढिरहेकी छन्।
सङ्गीतालाई स्कुल पढ्दै देखि खेल्न मन पर्थ्यो। त्यसैले स्कुलका शिक्षकहरू कुनै खेल खेलाउन प¥यो भने उनैलाई रोज्थे।
सङ्गीताले अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको १, राष्ट्रिय स्तरको २ र घरेलु स्तरको ३ गरी जम्मा ६ वटा स्वर्ण पदक जितिसकेकी छिन् । कुस्तीमा राम्रो खेलाडी बनेर उज्ज्वल भविष्य बनाउँदै आमा र बहिनीको साहारा बन्ने सोच भएको उनले बताइन् ।
सङ्गीता यहाँसम्म आउनमा उनका परिवार, शिक्षक, प्रशिक्षक लगायत सहयोगीहरूको ठुलो हात छ । सङ्गीता र उनका सम्पूर्ण सहयोगीलाई धेरै धेरै धन्यवाद ।



