हामीले बालुवाटारको जग्गा अतिक्रमण भएको त थाहा पाएका थियौँ । यतिखेर भने ताल मुनिकै जग्गा अतिक्रमण भएको कुरा बाहिर आएको छ । जग्गा माफिया र सम्बन्धित सरकारी कर्मचारीको मिलेमतोमा फेवा ताल मुनिको जग्गा व्यक्तिको नाममा आएको हो ।
सन् १९५७ अर्थात् वि सं २०१४ मा गरिएको सर्भेअनुसार २२,००० रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले ९,९५५ रोपनी जग्गा मात्रै छ । ९,०३५ रोपनी जग्गा अभिलेखबाटै गायब भएको छ त्यसमध्ये २२३२ रोपनी जग्गा अतिक्रमण भएको छ । अतिक्रमित जग्गामध्ये १६९२ रोपनी जग्गा पानीमुनि छ । यसरी पानीमुनि भएको ६७३ कित्ता जग्गाको लालपुर्जा लिएर जग्गा माफियाहरू तालमुनिको जमिनको मालिक भएर बसेका छन् । जग्गा फिर्ता लिन सरकारले गरेको पहलभन्दा अतिक्रमणकारीको अवरोध बलियो छ । त्यसैले सरकार र फेवाताल दुवै निरीह एवम् बेसहारा भएर बसेका छन् ।
फेवातालको झन्डै तीन हजार रोपनी जग्गा अतिक्रमण भएको छ । जसको धेरै जग्गा छ, उनीहरूले खर्च गर्छन् र ताल बचाउने योजना समेटिएको प्रतिवेदनको कार्यान्वयनमा अवरोध गर्छन् । तर, जोगाउने अभियन्तासँग पैसा छैन, त्यसैले ताल सङ्कटमा छ ।

फेवाताल बर्सेनि जलाधार वरिपरिको जलाधार क्षेत्रबाट बगेर आउने बालुवा, लेदो आदिले पनि पुर्दै लगेको छ । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ ९आइयुसिएन०ले अहिलेकै गतिमा फेवाताल अतिक्रमित हुने र पुरिँदै जाने हो भने आगामी ७५ देखि १०० वर्षभित्र फेवाताल लोप हुने भविष्यवाणी गरेको छ ।
फेवातालको जग्गा अतिक्रमणवालाहरूले पैसा खर्च गरेर फेवाताल सम्बन्धी संरक्षण सम्बन्धी काम अघि बढ्न दिइरहेका छैनन् ।
फेवातालको पानीमुनिको १६९२ रोपनी जग्गा, ६७३ कित्ता, व्यक्तिका नाममा लालपुर्जा बनिसकेको छ ।
सबै मिलेर देशकै सौन्दर्य फेवाताललाई जोगाऔँ ।
स्रोतः नयाँ पत्रिका



