काठमाडौँ, २०७६, मङ्सिर २१, शनिवार।
भरखरै सम्पन्न भएको गायन रियालिटी शो ‘द भ्वाइस अफ् नेपाल सिजन २’ का विजेता राम लिम्बु बनेका छन् । विजेता बनेसँगै रामले डाटसन रेडी गो कार, १२ लाख नगद, १५ लाखको भिडियो एल्बम र विश्व साङ्गीतिक यात्राको अवसर प्राप्त गरेका छन् ।
होटेल हायतको ग्राउन्ड चुचेपाटी बौद्धमा शनिवार राति भएको फाइनल (ग्रयाण्ड फिनाले) मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई उछिन्दै राम लिम्बुले द भ्वाइस अफ् नेपालको उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको म्युजिक भिडियो एल्बम र विश्व साङ्गीतिक यात्राको अवसर प्राप्त गर्ने भएका छन् ।
गत शुक्रवार राति सम्पन्न भएको सेमिफाइनलमा ८ जनाको प्रतिस्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनल चरणमा प्रवेश गरेका थिए । फाइनलमा प्रवेश गर्नेहरूमा प्रशिक्षक (कोच) दीप श्रेष्ठको तर्फबाट विकास लिम्बु, कोच राजु लामाबाट सनिश श्रेष्ठ, कोच आस्था राउतबाट आरिफ राव र कोच प्रमोद खरेलबाट राम लिम्बु थिए ।

ब्लाइण्ड अडिसन, ब्याटल राउन्ड, नकआउट चरण हुँदै लाइभ राउन्डमा १२ जना छानिएका थिए । जसमा कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ राउन्डमा पुगेका थिए । कोच आस्था राउतको टिमबाट यान्की ह्याल्मो , शशिका राई, आरिफ राव पुगेका थिए । त्यसै गरी कोच प्रमोद खरेलको टिमबाट बलबहादुर राजवंशी, मेचु धिमाल र राम लिम्बु थिए भने कोच राजुबाट गीता शर्मा, अन्जु रानामगर र सनिश श्रेष्ठ लाइभ शोमा थिए ।
नव गायन प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सञ्चालनमा ल्याइएको थियो भने उक्त कार्यक्रम साउन ३१ बाट हिमालय टिभी एचडी मार्फत प्रसारण हुँदै आएको थियो ।
सरदर २२ हजार आवेदकहरू मध्ये छानिएका करिब १०० नयाँ प्रतिभाले ब्लाइण्ड अडिसनमा कोचहरू सामु आफ्नो आवाज सुनाएका थिए । यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत रहेका थिए । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले द भ्वाइसको उपाधि जितेका थिए । यो पटक भने कोच प्रमोद खरेलको तर्फबाट राम लिम्बुले उक्त उपाधि जितेका हुन् ।




