दक्षिण भारतको हैदरबादमा महिलालाई बलात्कार गरिएकै ठाउँमा लगेर प्रहरीले घटनामा पक्राउ परेका चार सन्दिग्धलाई गोली हानि मारेको छ । यतिखेर भारतमा महिला हिंसा सबैभन्दा ठुलो समस्या बनेको छ ।
बलात्कार गरिएकी महिला पशुचिकित्सक थिइन् । उनलाई बलात्कार मात्र गरिएको थिएन, बलात्कार पछि उनको हत्या गरेर जलाइएको समेत थियो ।
गत साता ती पशुचिकित्सक महिलाको बलात्कार र हत्या पछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो। सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग जोडतोडले उठेको थियो।

मृतक २७ वर्षीया महिलाकी बहिनीका अनुसार उनी स्वास्थ्य जाँच गराउन नोभेम्बर २८ को बुधवार स्थानीय समयानुसार साँझ ६ः०० बजे घरबाट आफ्नो स्कुटरमा निस्किएकी थिइन् । पछि उनले आफ्नो स्कुटर पञ्चर भएको बताएकी थिइन् । अझ बताइए अनुसार ती बलात्कारीले उनलाई पञ्जामा लिन उनको स्कुटर पञ्चर गराएका थिए । उनको त्यही बलात्कार र हत्या भएको थियो ।
प्रहरीले आरोपीहरूलाई बलात्कार स्थल हैदराबादको नेशनल हाइवे ४४ मा अपराधको दृष्य ‘रि–क्रियट’ गर्न लगेको थियो । चारैजना आरोपीहरूले भाग्ने प्रयास गर्दा गोली हानिएको प्रहरीले दाबी गरेपनि सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।
भारतको राजधानी दिल्लीमा सन् २०१२, डिसेम्बरमा महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिला विरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएको छ। तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत भने देखा परेका छैनन् जुन अत्यन्त चिन्ताजनक विषय हो।
भारतमा पछिल्लो सरकारी रिपोर्ट अनुसार २०१७ मा मात्रै ३३६५८ वटा बलात्कारका मुद्दा प्रहरीकहाँ दर्ता भएका थिए । यस अनुसार भारतमा हरेक दिन ९२ वटा बलात्कारका घटना हुने गरेको छ ।
भारतमा महिला हिंसाको अवस्था अत्यन्त भयावह बन्दै गएको छ भने यो समस्याको दीर्घकालीन समाधानमा भारत सरकार उच्चतम प्राथमिकताका साथ लाग्नै पर्ने देखिन्छ ।



