काठमाडौं, चैत ४ । अर्जेन्टाइन सुपरस्टार लिओनल मेसी व्यावसायिक फुटबलको इतिहासमा ९०० गोल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।
बुधबार इन्टर मियामी र नासभिल एससीबीच भएको खेलमा गोल गर्दै उनले यो ऐतिहासिक सफलता हात पारेका हुन्।
३८ वर्षीय फरवार्ड मेसीले अमेरिकाको टेनेसीस्थित जियोडिस पार्कमा भएको (कनकाकाफ च्याम्पियन्स कप) को खेल सुरु भएको सात मिनेटमै नौ सय कोशेढुङ्गा पार गरेका थिए। सन् २०२३ को जुन महिनामा इन्टर मियामीमा आबद्ध भएयता उनले ९२ खेलमा ८१ गोल गरिसकेका छन्, जसले क्लबलाई लिग कप र एमएलएस कप जिताउन मद्दत गर्यो।
विश्वकै महान फुटबलरमध्येका एक मानिने मेसीले आठ पटक (बालोन डिुओर) अवार्ड जितिसकेका छन्। उनले बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी) र अर्जेन्टिनाका लागि खेल्दै गोलको वर्षा नै गरेका छन्।



